कुनै दुबिधा नहोस्, बसपार्क खाली हुन्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्कमा रहेका भौतिक संरचना हट्ने र बसपार्क निर्माण प्रक्रिया अगाडि बढ्नेमा कुनै दुविधा नपाल्न आग्रह गरेका छन् । उच्च अदालत पोखराले पोखरा बसपार्कका घर तथा अन्य भौतिक संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेसंगै सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया जनाउँदै यस्तो आग्रह गरेका हुन् ।

बसपार्क खाली गर्न भइरहेका तयारी र प्रक्रियाका बारेमा स्पस्टिकरण दिएका उनले अदालको आदेश क्षणिक रहेको र आफूहरुको उद्देश्यमा कुनै अबरोध नहुने प्रष्ट्याएका छन् । कुनैपनि बहानाले अब बसपार्क बन्न नरोकिने उल्लेख गरेका उनले बसपार्कबाट हट्न तयार रहेका सुकुमबासी र जग्गा धनी प्रति आभार प्रकट समेत गरेका छन् । तर महानगरसंग एक प्रकारको सहमति गर्ने र त्यस विरुद्ध अदानल जानेहरु प्रति भने मेयर आचार्यले आक्रोस प्रकट गरेका छन् । उनले पोखरा बसपार्कको दीर्घकालीन व्यवस्थापन, आधुनिकीकरण र सार्वजनिक हितका लागि अघि बढाइएको अभियानमा अभूतपूर्व सहयोग प्राप्त भएको भन्दै राजनीतिक दल, संघसंस्था, व्यवसायी, नागरिक समाज, सञ्चारमाध्यम तथा आम महानगरवासी नागरिकप्रति आभार प्रकट गरेका छन् । सर्वपक्षीय सहयोग र समर्थन नै आफू र महानगरको लागि उर्जा भएको उनले उल्लेख गरेका छन् ।

‘ पोखरा बसपार्कको दीर्घकालीन व्यवस्थापन, आधुनिकीकरण र सार्वजनिक हितका लागि अघि बढाइएको अभियानमा अभूतपूर्व सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक दल, संघसंस्था, व्यवसायी, नागरिक समाज, सञ्चारमाध्यम तथा आम महानगरवासी नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछौ। तपाईंहरूको सर्वपक्षीय सहयोग र समर्थन नै हाम्रो मुख्य ऊर्जा हो’ उनले लेखेका छन् ।

मेयर आचार्यले विकास निर्माणका काममा विभिन्न धारणा, चासो र असहमति हुनु स्वाभाविक भएपनि विभिन्न बहाना, भ्रम वा कानुनी प्रक्रियालाई अनावश्यक रूपमा ढिलाइको माध्यम बनाउने प्रयास गलत र क्षणिक हुने बताए । महानगरपालिका व्यक्तिगत सम्पत्ति अधिकारप्रति पूर्ण रूपमा संवेदनशील रहेको, कानुन, प्रमाण तथा महानगरपालिकाद्वारा गठित छानबिन समितिको सिफारिस बमोजिम नै सबै प्रक्रिया अगाडि बढ्ने उनले प्रष्ट पारेका छन् ।

मेयर आचार्यले लेखेका छन्, ‘विकास निर्माणका काममा विभिन्न धारणा, चासो र असहमति हुनु स्वाभाविक हो । तथापि, विभिन्न बहाना, भ्रम वा कानुनी प्रक्रियालाई अनावश्यक रूपमा ढिलाइको माध्यम बनाउने प्रयासहरू क्षणिक मात्र हुनेछन्। महानगरपालिका व्यक्तिगत सम्पत्ति अधिकारप्रति पूर्ण रूपमा संवेदनशील छ। कानुन, प्रमाण तथा महानगरपालिकाद्वारा गठित छानबिन समितिको सिफारिस बमोजिम नै सबै प्रक्रिया अगाडि बढ्ने विषयमा हामी सबैलाई विश्वस्त रहन अनुरोध गर्दछौ।’

मेयर आचार्यले बसपार्क क्षेत्रभित्र लालपुर्जासहित बसोबास गरिरहेकाहरुले आफू बसिरहेको स्थान खाली गर्दै गएका र २४ गतेभित्र हटाइसक्ने गरी काम सुरु गर्नुभएको जानकारी दिए । बसपार्कभित्र बसोबास गरिरहेका र आवास व्यवस्थापन आवश्यक पर्ने सुकुम्बासी तथा भूमिहीन परिवारहरूको सम्बन्धमा जग्गा खोजी समिति पोखरा महानगरपालिकालाई बिहीबार आफ्नो प्रतिवेदन महानगर प्रमुख बुझाएको समेत उनले उल्लेख गरेका छन् ।

वैकल्पिक स्थानमा आवश्यक पूर्वाधार, सुविधा र व्यवस्थापनसहित नया बस्ती पुनर्स्थापनाको अन्तिम तयारी भइरहेको उनले बताए । सम्बन्धित परिवारहरूलाई छोटो अवधिका लागि आफ्नो व्यवस्थापन आफैं मिलाइदिन समेत उनले अनुरोध गरेका छन् । जसलाई थप सहयोग जरुरी हुन्छ, त्यसमा महानगरपालिकाले अवश्य सहजीकरण गर्ने उनले बताएका छन् ।

 

 

  • २२ जेष्ठ २०८३, शुक्रबार ०७:११ प्रकाशित