काठमाडौं ।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीछ आज भेटवार्ता भएको छ । रविसँगको भेटलगत्तै मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’
उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताएका छन् । साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।












