धवलशमशेर पक्षका नेताहरू राप्रपाबाट सामुहिक राजीनामा दिने तयारीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा पक्षका नेताहरुले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् । महामन्त्री राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताएका थिए।

नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने योजनाका साथ राणाले उक्त आह्वान गरेको नेता दिलनाथ गिरीले बताए । उनका अनुसार अहिले राप्रपामा रहेका देशभरका राणा निकटका नेता कार्यकर्ताको नामावली सङ्कलन भइरहेको छ । सबै हस्ताक्षरसहितको नामावली सङ्कलन सकिएपछि सबैले सामूहिक राजीनामा दिएको घोषणा गर्ने तयारी भएको छ । यद्यपि उनले आफूहरूले अब राप्रपाको लिगेसी बोकेर नयाँ पार्टी खोल्न नलागेको बताए ।

राप्रपाबाट राजीनामा दिएर आउनेहरूका साथै अन्य राष्ट्रपति शक्तिहरूलाई समेटेर छिट्टै पार्टी घोषणा गर्ने तयारी भएको अर्को एक नेताले बताए । यद्यपि पार्टीको नामबारे भने टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ थियो।

राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावना अनुकूल अघि बढाउने प्रयास गरे पनि विरोधाभास र सैद्धान्तिक द्विविधाबिच गलत बाटोमा हिँड्ने तथा हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उल्लेख गरेका छन् ।

राप्रपा नेता जनकराज पाठकले राणाजस्तो राष्ट्रवादी व्यक्तिले राप्रपा छाड्नु कुनै पनि हिसाबले ठिक नभएको उल्लेख गर्दै अझै पनि नेतृत्वले उनका असमझदारीका विषयमा संवाद गरेर समाधानको प्रयास गर्नुपर्नेमा जोड दिए ।

‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु’, राणाले विज्ञप्तिमा भनेका छन्, ‘समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ । देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु ।’

  • १८ जेष्ठ २०८३, सोमबार १५:४८ प्रकाशित