आज १९ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा आज १९ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित देशैभर मनाइँदैछ । गणतन्त्र विदसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षको उपलब्धिका रूपमा नेपालमा गणतन्त्र आएको हो ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । यसैबिच गणतन्त्र दिवसका अवसरमा सरकारले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहसहितको उपस्थितिमा गणतन्त्र दिवस समारोह हुन लागेको हो। समारोहमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति पौडेलले समारोहमा सम्बोधन गर्ने तयारी छ । गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ । सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।

यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो । गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने स्रोतको भनाइ छ ।

  • १५ जेष्ठ २०८३, शुक्रबार ०९:२० प्रकाशित