पृथ्वीचोक बसपार्क अगाडि सरकारी जग्गामा बनेका संरचनामा चल्यो महानगरको डोजर

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडि पोखरा उपत्यका नगरविकास समितिको जग्गामा जग्गा कब्जा गरेर बनाइएका संरचना उपत्यका नगर विकास समितिले आज (बिहीबार) बाट हटाउन सुरु गरिएको छ।

विगतमा सत्तामा हालिमुहाली गरेका राजनीतिक दल निकट निकट ट्रेड युनियन, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतले प्रयोग गर्दै आएका संरचना भत्काउन सुरु गरिएको हो । विहान ११ : २० बजेबाट सो स्थानमा दुई वटा डोजर चलाउन सुरु गरिएको हो ।

पृथ्वीचोक स्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू हटाइने छ ।

उनीहरूलाई आफ्ना सामाग्रीहरू स्थानान्तरण गर्नका लागि ३५ दिन बढी समय दिएर खाली भइसकेपछि ती संरचनाहरू हटाउन सुरु गरिएको हो ।

त्यस स्थानमा रहेका संरचनाहरू हटाएर नयाँबजार तर्फ जाने दुईतर्फी सडक विस्तार गर्ने योजना महानगरको रहेको महानगर प्रमुख धनराज आचार्यले बताएका छन् । उक्त आसपासमा रहेका सुकमबासीहरूको पनि उचित व्यवस्थापन गरी खाली गर्ने महानगरपालिकाको तयारी रहेको महानगरले जनाएको छ ।

महानगरले यस अगाडि ५ जेठमा अमरसिंह मावि मातहत रहेको चौरमा बनाइएका ५१ वटा संरचनामा डोजर लगाएको थियो । वर्षौंदेखि राजनीति र विवादको केन्द्रमा रहँदै आएको फिर्केखोलामा १० बाट डोजर लगाइरहेको छ । फिर्केमा बिहीबारसम्म पनि खोला घरभित्र निर्माण भएका १ सय ६० वटा स्थायी र अस्थायी संरचना हटाउने अभियान जारी छ ।

  • १४ जेष्ठ २०८३, बिहीबार १२:१२ प्रकाशित