पोखरा बसपार्क अगाडिका घरटहरामा चलाइँदै पोखरा महानगरको डोजर

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडि पोखरा उपत्यका नगरविकास समितिको जग्गामा जग्गा कब्जा गरेर बनाइएका संरचना उपत्यका नगर विकास समितिले आज (बिहीबार) बाट हटाउन सुरु गर्दैछ ।

विगतमा सत्तामा हालिमुहाली गरेका राजनीतिक दल निकट निकट ट्रेड युनियन, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतले प्रयोग गर्दै आएका संरचना भत्काउन लागिएको हो । पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत रहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार आज विहान ११ बजेबाट ति संरचनामा डोजर चल्न सुरु हुनेछ ।

उनका अनुसार पृथ्वीचोक स्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू हटाउनेछ ।

उनीहरूलाई आफ्ना सामाग्रीहरू स्थानान्तरण गर्नका लागि ३५ दिन बढी समय दिएर खाली भइसकेपछि ती संरचनाहरू हटाउन लागिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

त्यस स्थानमा रहेका संरचनाहरू हटाएर नयाँबजार तर्फ जाने दुईतर्फी सडक विस्तार गर्ने योजना महानगर प्रमुख आचार्यले सुनाएका छन् । उक्त आसपासमा रहेका सुकमबासीहरूको पनि उचित व्यवस्थापन गरी खाली गर्ने महानगरपालिकाको तयारी रहेको महानगरले जनाएको छ ।

महानगरले यस अगाडि ५ जेठमा अमरसिंह मावि मातहत रहेको चौरमा बनाइएका ५१ वटा संरचनामा डोजर लगाएको थियो । वर्षौंदेखि राजनीति र विवादको केन्द्रमा रहँदै आएको फिर्केखोलामा १० बाट डोजर लगाइरहेको छ । फिर्केमा बिहीबारसम्म पनि खोला घरभित्र निर्माण भएका १ सय ६० वटा स्थायी र अस्थायी संरचना हटाउने अभियान जारी छ ।

 

  • १४ जेष्ठ २०८३, बिहीबार ०८:३० प्रकाशित