पोखरा ।
पोखरा बसपार्क निर्माणका लागि ५१ वर्ष आगाडि २०५ रोपनी (फिल्डमा नाप्दा १९६–११–३–०) जग्गा अधिग्रहण गरिएको थियो । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा उपत्यका नगरविकास समितिकै पछिल्लो रिपोर्ट अनुसार अहिले अधिग्रहण गरिएको जमिनको जम्मा २६ रोपनी जमिनमा मात्र बस पार्किङ गर्न मिल्ने आवस्थामा छ ।
अधिग्रहण गरिएको जग्गाकेही भाग सट्टापट्टा र बिक्री–वितरण नै भएको छ भने अतिक्रमण गरेर बसेका सुकमबासी तथा भूमिहिनका ४५७ घर टहरा छन् । यसरी अतिक्रमण गरेर बसेका बास्तविक सुकमबासीलाई त्याहाँबाट स्थानान्तरणका लागि जग्गा खोज्न र सट्टापट्टा वा विक्री–वितरणका क्रममा दिइएको क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ ।
समितिका अध्यक्षमा पूर्वन्यायाधीश शंकरराज बराल रहेका छन् । सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी तथा सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी छन् ।
मंगलबार बसेको कार्यपालिका बैठकले जग्गा पहिचान र छानबिन समिति गठन गरेको हो । विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको तथा सट्टापट्टा र बिक्री प्रक्रियामा अनियमितता भएको भन्ने गुनासा सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको जनाइएको छ ।
समितिलाई पछिल्लो ५१ वर्षमा विभिन्न चरणमा भएका निर्णय, जग्गा सट्टापट्टा, क्षतिपूर्ति वितरण तथा सम्बन्धित कागजातहरूको अध्ययन, विश्लेषण र सत्यतथ्य परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई प्रतिवेदन बुझाउन १५ कार्यदिनको समय तोकिएको छ ।
साथै, लामो समयदेखि विवाद र चर्चाको विषय बन्दै आएको बसपार्कलाई अब व्यवस्थित, आधुनिक र सुविधा सम्पन्न पूर्वाधारका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
समितिले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन प्रस्तुत गरी आधा शताब्दीदेखि विवादित बनेको बसपार्क जग्गा प्रकरणको न्यायिक निरुपणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यसैगरी बसपार्कमा रहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्ने गरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन भएको छ ।
पोखरा १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर ९का वडाध्यक्ष दीपेन्द्र मर्सानी, वडा नम्बर १५ का वाडाध्यक्ष तोरण बानियाँ, वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्की, वडा नम्बर २५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा प्रमुख सीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिकृत टिकाराम बजगाइँ रहेका छन् । समितिलाई १० दिनको कार्यादेश दिइएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।


















