काठमाडौं ।
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।
एक साता अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ ।चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ ।
यसअघि ४ जेठदेखि लागु भएको दरमा यो अन्डाको मूल्य ५ सय ३० रुपैयाँ कायम थियो । त्यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ ।
यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय १५ रुपैयाँ र मिडियम अन्डा ४ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको संघले जनाएको छ ।अन्डाको उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत राखिएको छ ।
बर्डफ्लुका कारण कुखुरा मासिएको र बजारमा उत्पादन तुलनामा माग बढी भएको कारण देखाउँदै संघले सातापिच्छे अन्डाको मूल्य बढाउँदै आएको छ ।
संघ अध्यक्ष विनोद पोखरेलले उत्पादन लागत महँगो हुँदा किसानहरू पलायन हुने अवस्था आएको भन्दै मूल्य बढाउनु आफूहरूको बाध्यता रहेको बताउँदै आएका छन् ।

















