काठमाडौं ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेका छन् ।
विदेशमा ज्यान गुमाएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम मिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठग्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् ।
उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।