काठमाडौं ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली ९क्यूआरटी० का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमला संयोजक रहेको समितिले पर्यटन मन्त्रालयमा आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारी व्यवस्थित बनाउन पुनरुत्थान मस्यौदा तयार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ समक्ष प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिवेदन अनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आँकलन गरिएको छ । होटल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानी १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५ सय बराबर क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधन १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्ट १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको आकलन गरिएको छ ।
त्यस्तै आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड बराबर प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
बाढी तथा पहिरोमा १ हजार १ सय १७ नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३ सय १० जनाको सकुशल उद्धार गरिएको छ । १३ जना सम्पर्कमा आएका छन् ।
हालसम्म ७ सय ९४ जना सम्पर्कविहीन रहेकोमा ६ सय ६ जना विदेशी र १ सय ८८ नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २ सय ५८ पुरुष र ५२ महिला छन् ।













