वागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन। नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्दछ ।

यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भने, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।

 

  • १५ भाद्र २०७८, मंगलवार १६:३९ प्रकाशित