काठमाडौं।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता रहेको बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे ।
रायमाझीले भने, “केही नेताहरूको बहिर्गमनपछि एमाले वैचारिक र राजनीतिक रूपमा झन् ऊर्जाशील भएको छ । यो नयाँ एमाले हो । यो विगतको नेकपाकै निरन्तरता हो । त्यसैले एमालेको पक्षमा व्यापक जनलहर छ । फेरि पनि एमाले एक नम्बर पार्टी बन्छ ।”
अहिले परमादेशका कारण मात्र एमाले प्रतिपक्ष भएको हुनु परेको उनले दाबी गरे । उनले भने, “संसारभरि सत्तापक्षविरुद्ध गठबन्धन हुन्छ । यहाँ त प्रतिपक्षविरुद्ध चुनावसम्म महागठबन्धन गर्ने भनिएको छ । यो पराजित मानसिकताको उपज हो । एमालेसँग एक्लै लड्ने हैसियत र हिम्मत कसैसँग छैन ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेर अरू न्यायाधीशहरू पानीमाथिको ओभानो बन्न नपाउने रायमाझीले बताए । उनले भने, “सेटिङ गरेर परमादेश जारी गरेको पर्दाफास भइसकेको छ । गठबन्धनले जनादेशको अपमान गरी लोकतन्त्रविरोधी हर्कत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेर अरू न्यायाधीशहरू पानीमाथिको ओभानो बन्न पाउँदैनन् ।”