प्रचण्डसँग एमसीसी प्रतिनिधि मण्डलको भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका छन् । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको जानकारी गराएका थिए ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदै सुमारले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको धारणा राखेकी थिइन् ।

सुमार कर्पोरेसनका नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको अमेरिकी प्रतिनिधिमण्डलका साथमा नेपालमा छिन् । एमसीसीका विषयमा नेपालमा बहुपक्षीय छलफल जारी छ ।

आफ्नो चार दिने नेपाल भ्रमणका क्रममा उपाध्यक्ष सुमारसहितको टोलीले एमसीसीको नेपालमा बुझाई र आगामी पहलकदमीका बारेमा विभिन्न उच्च नेतृत्वसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

उपाध्यक्ष सुमार लगायतको टोलीले शुक्रवार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

  • २५ भाद्र २०७८, शुक्रबार १०:४६ प्रकाशित