पोखरा ।
राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डाको टुंगो आज लागेसँगै नेकपा एमालेले गण्डकीबाट तीन जना उम्मेदवार चयन गरेको छ ।
चयन हुनेमा कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपाली रहेका छन् । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको थियो ।
एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने तय गरेको हो ।
दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार, महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरी लीला थारु थन्नेत, खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लीलाबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका थिए ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ ।