काठमाडौं ।
आज र भोलि (शनिबार र आइतबार) भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ऐ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो।
बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ । जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।
कर्बोहाइट्रेड, फ्याट (चिल्लो), प्रोट्रिनलाई बढी खाइए पनि सूक्ष्मपोषक तत्त्व कम मात्रामा खाइने हुँदा भिटामिन ‘ए’ को कमी हुने बताउँछन् स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक कुमार लाल ।
‘बालकालिकामा भिटामिन ए अभाव देखियो, जसले गर्दा उनीहरूमा अन्य समस्यासँगै दृष्टिमा असर पर्ने हुन्छ,’ उनले भने, ‘रतन्धो, आँखामा घाउ भएर दृष्टिविहीन हुने समस्या पहिला धेरै देखिन्थ्यो । यसलाई न्यूनीकरण गर्न पाँच वर्षमुनिका बालबालबलिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ए खुवाउने गछौँ ।’
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ । स्वास्थ्य सेवा विभागका अनुसार यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।















