पाेखरा ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी १२ वैशाखका लागि तोकिएको कक्षा १२ को परीक्षा नरोकिएको भन्दै भ्रममा नपरी परीक्षाको तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । शुक्रबार परीक्षा रोकिएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म खबरहरु बाहिरिएपछि बोर्डले सूचना नै जारी गरेर परीक्षा नरोकिएको प्रष्ट्याएको हो ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही मिति २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा संम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ ।
त्यस्तै परीक्षा लगायत अन्य जानकारीका लागि बोर्डकै आधिकारिक वेबसाइडमा गइ हेर्न र अन्यबाट आएको सूचनाको भरमा नपर्न समेत बोर्डले आग्रह गरेको छ ।
साथै संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर स्क्यान गरी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर कानुनी कारबाहीमा जाने समेत बोर्डले चेतावनी दिएको छ ।
परीक्षाको मिति नजिकिएको सम्बन्धमा शिक्षकहरुलाई वार्तामा ल्याइ सहज वातावरणमा परीक्षा सञ्चालन गर्ने वातावरणको तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई आफ्नो तयारीमा लाग्न समेत बोर्डले आग्रह गरेको छ ।















