पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । मंगलबार विहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा देखिएको त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो । मंगलबार साँझ नै अर्को सूचना निकाले निर्वाचन समितिले बुधबार हुने निर्वाचन पनि स्थगित गरेको जानकारी दिएको हो । अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्यानलसहित निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकिएको निर्वाच्न समितिले जनाएको छ ।
निर्वाचन प्रक्रिया प्रभावित भएपछि सर्वपक्षीय छलफलको आधारमा नयाँ मिति तय गरिने निर्णय गरिएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।
सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवाला पक्षलाई यसबारे जानकारी गराउँदै क्याम्पस प्रशासनले आगामी निर्णयसम्म धैर्य राख्न अनुरोध गरेको छ । मंगलबार विहानै देखि साँझसम्म नै विद्याथीहरुले क्याम्पस गेट अगाडि निर्वाचनको माग गर्दै प्रदर्शन गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा विगत १६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।















