निजी विद्यालय अनिवार्य सामाजिक सुरक्षा कोषमा आवद्ध नभए आन्दोलनमा जाने प्याब्सुको चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।

निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) ले निजी विद्यालययलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ ।

पोखरामा शनिबार विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै युनियनले यसअघि प्याब्सन तथा एनप्याब्सनसँग राखिएकामा मागहरु पूरा नभए आगामी शैक्षिक सत्रदेखि आन्दोलन गर्ने चेतावनी दिएको हो । समितिका अध्यक्ष शिवलाल उपाध्यायले देशभर रहेका निजी विद्यालय मध्ये १० प्रतिशत विद्यालय मात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको बताए । उनले कास्कीमा ५ वटा विद्यालय मात्र निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भएको जानकारी दिए।

यसअघि पनि मागको बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा कुनै सुनवाइ नभएको उपाध्यायको भनाइ छ। आगामी शैक्षिक सत्र सुरु हुने वैशाखसम्म माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी शिक्षक र कर्मचारीले दिएका हुन् ।

प्याब्सुले प्रत्येक शिक्षक र कर्मचारीलाई तलब नै उल्लेख गरी नियुक्ति पत्र दिनुपर्ने, नेपाल सरकारले तोकेको बिदा उपलब्ध गराउनुपर्ने, शिक्षक, कर्मचारीको तलब, भत्ता, ग्रेड सबै सरकारी सरह गर्न माग गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका दुई जना सन्तानलाई छात्रवृत्ति व्यवस्था, शिक्षक, कर्मचारीलाई बोलिने भाषा मर्यादित हुनुपर्ने, विना कारण शिक्षक कर्मचारीलाई हटाउन नपाइने, शिक्षक र कर्मचारीलाई विद्यालयले हटाउन चाहेमा ६ महिनासम्मको सेवा सुविधा दिनुपर्ने, सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने पनि उनीहरुका माग छन् ।

  • १७ फाल्गुन २०८१, शनिबार २१:२३ प्रकाशित