प्रधानमन्त्रीद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत छ : प्रम ओली

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आएका प्रधानमन्त्री ओलीले १७ करोडको लागतमा बनेका प्रतिष्ठानको भवनको आजै उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे ।

उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए ।

प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।

‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ।’, प्रधानमन्त्री ओलीले भने, ‘चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ।’

कार्यक्रममा कुलपति ओलीबाट विसं। २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् ।

  • ३ माघ २०८१, बिहीबार १६:०४ प्रकाशित