पोखरा ।
केन्द्रमा सत्ता समीकरण बदलिंदा छिट्टै त्यसको प्रभाव देखिने गण्डकी प्रदेशमा अहिले भने हाइसन्चो भएको छ । तत्कालिन प्रतिपक्षी तर अब सत्ताशिन हुन लागेको कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई केन्द्रमा भएको सत्ता समिकिरणले झनै मदजबुद बनाएको छ ।
कांग्रेसका २८, राप्रपाका २, नेकसपाका १ र स्वतन्त्र सांसदको समर्थनसहित टुप्लुक्क बहुमतमा रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई अब भने माओवादी केन्द्रका ६ जना (सभामुख बाहेक) बाहेकका सबैले समर्थन गर्ने देखिएको छ । गण्डकी प्रदेशसभामा एमालेका २२ सांसद छन् ।
कांग्रेस र एमाले मिल्दा मात्रै पनि सत्ता पक्षमा अब ५० सांसद पुग्नेछन् । त्यसमा पनि बन्दै गरेको केन्द्रीय सत्ता गठबन्धनलाई राप्रपाले पनि समर्थन जनाउने देखिएको छ । नेसपाका फडीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजुव गुरुङ मन्त्री छन् । यस हिसाव मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ५३ सांसदको समर्थन पुग्ने देखिएको छ ।
यस अघि सुरुमा नेकपा विभाजन हुँदा त्यसको पहिलो असर तत्कालिन मुख्यमन्त्री रहेको पृथ्वी सुब्बा गुरुङको सरकार ढलेको थियो । विभिन्न चरण पार गर्दै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बनेको थियो । त्यसपछि दोस्रो संसदको कार्यकाल सुरु हुँदा गठबन्धनमा रहेका कांग्रेस एमाले बीच गठबन्धन तोडिएर एमाले माओवादी बीच तालमेल हुँदा राप्रपाको समेत समर्थनमा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बने ।
लगत्तै केन्द्रमा सक्ता समिकरण बदलिँदा सुरेन्द्र पाण्डे मन्त्री बने । फेरी सत्ता समिकरण बदलिँदा एमालेका अधिकारी नै मुख्यमन्त्री बने । तर, ३० जनाको समर्थन भएकाले उनले लिएको विश्वासको मतलाई बदर गर्दै सर्बोच्च अदालतले वर्तमान मुख्यमन्त्री पाण्डेको नेतृत्वमा सरकार बनाउन परमादेश दिएपछि अधिकारी सरकार ढलेको थियो ।
अहिले भने प्रतिपक्षमा रहेको कांग्रेस सत्तारुढ हुन लागेको र एमालेसंग नै गठबन्धन भएकाले केन्द्रमा सत्ता समिकरण परिवर्तन भएपनि गण्डकीका मुख्यमन्त्री सुरेनद्रराज पाण्डेलाई हाइसन्चो भएको हो ।