काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्ट पार्टीको मुख्य ‘वर्गशत्रु’ नै अब रास्वपा रहेको टिप्पणी गरेका छन् । शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले यस्तो टिप्पणी गरेका हुन् ।
दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि रास्वपा रहेको उल्लेख गरेका उनले दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको उनको जिकिर छ। कम्युनिस्ट पार्टीको मुख्य ‘वर्गशत्रु’ नै अब रास्वपा रहेको उनको ठम्याइ छ । विगतमा मुख्य वर्गशत्रु भने पनि अहिले मुख्य प्रतिद्वन्द्व भन्ने गरिएको र त्यो रास्वपा भएको उनको भनाइ छ ।
२०६२र६३ सालको परिवर्तन पछि नेपाली कांग्रेस दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेको उल्लेख गर्दै अहिले त्यो स्थानमा रास्वपा आएको उनको भनाइ थियो । ‘खासगरी अब ६२र६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि कांग्रेस हुन्थ्यो। अहिले त्योभन्दा बढी रास्वपा दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ। उसले व्यापक दमन(मर्दन सुरु गरेको छ,’ खनालले भने ।











