पुम्दी–भुम्दी पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा प्रर्वद्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको करिब ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुगेको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताए । उनले ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिए । उनका अनुसार उक्त योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतीक्षालय, रेलिङल गायतका भौतिक संरचना निर्माण गरिने वडाध्यक्ष बरालले बताए ।

ड्यामसाइडदेखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब ७ किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी २० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी रहेको उनले जानकारी दिए । गत वर्ष पदमार्ग निर्माणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भए पनि संघीय सरकार चुनावी प्रक्रियामा रहेका कारण प्राविधिक समस्याले बजेट खर्च हुन नसकेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । यस्ता गतिविधिबाट स्थानीय उत्पादन तथा वस्तुको समेत प्रवद्र्धन हुने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका अधिकांश डाँडाकाँडा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको बताए । गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधि महत्वपूर्ण हुने उल्लेख गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र भौतिक पूर्वाधारभन्दा देखिने किसिमका कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा जोड दिने नीति वोर्डको रहेको बताए ।

उक्त अबसरमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बराल र केन्द्रका उपाध्यक्ष असफल गौतम लगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक तथा पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारीस्वरूप हाइकिङ आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छवटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पुम्दी–भुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्दै विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडाा हालै निर्माण भएको कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।

गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको पोखरा प्रर्वद्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । प्राकृतिक सम्पदामा मात्र निर्भर भएर पर्यटन व्यवस्थापन गर्न कठिन हुने भएकाले मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ तथा पदमार्गलाई व्यवस्थित र दिगो रूपमा संरक्षण गर्नुपर्ने पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

हाइकिङ कार्यक्रमको उद्घाटन पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही र गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले संयुक्त रूपमा गरेका थिए । हाईकिङ कार्यक्रमलाई सफल पार्न ड्रिम सिटि, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गरेको थियो ।

  • ६ भाद्र २०८३, शनिबार २२:४० प्रकाशित