पोखरा ।
यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर नेताहरुले सरकारले यातायात क्षेत्रको महत्वलाई नबुझेको भन्दै आक्रोस पोखेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दुरी बस तथा मिनिबस इकाइको १६ औं अधिवेशन एवं योगदानमा आधारित सामाजिक सुरक्षा प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले आक्रोस पोखेका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवं पोखरा जगदम्भा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले यातायात मन्त्रालय नै नरहेको बताए । उनले आफूले यातायात मन्त्रालय खोज्दा खोज्दै हरानी भएको तर भौतिक पूर्वाधार मन्त्रालय मात्र भेटिएको टिप्पणी गरे । यातायात क्षेत्रले राज्यका लागि दिएको यत्रो योगदानलाई राज्यले नबुझेको उनले बताए । विदेशमा यातयात क्षेत्रमा सरकारले लगानी गरेको हुन्छ । तर यहाँ निजी क्षेत्रले गरेको लगानीको संरक्षणमा सरकार नलागेको उनले उल्लेख गरे । ‘हामी यति पेलिएका छौं । यति हेपिएका छौं । अस्ति मन्त्रालय गएँ । यातायात मन्त्रालय खोज्दा खोज्दै मलाई आधी घण्टा लाग्यो । त्यहाँ त भौतिक पूर्वाधार लेखेको छ । यातायातको नामै छैन । मन्त्रालयमा एउटा सानो शाखा मात्रै राखेको छ ’ उनले भने ।
यातयात व्यवसायी र मजदुरको सम्बन्ध भनेको एउटा सिक्काको दुई पाटाको जस्तो रहेको उनको भनाई थियो । मजदुरले व्यवसायी र व्यवसायीले मजदुरको हित नसोच्ने हो भने यातायात क्षेत्र अगाडि बढ्न नसक्ने उनलको भनाई छ । उनले मजदुरको अनुशासनको विषय पनि महत्वपूर्ण रहेको बताए । मापसे र लापसे बेलुका खाएर सुतेको भनेर नहुने उनको टिप्पणी गरे । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जानुपर्नेमा आफूहरु प्रतिवद्ध रहेको र अब लागु गरेर जाने उनले प्रतिवद्धता जनाए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ट उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनीका अध्यक्ष ऐन कुमार साईले स्वरोजगार मजदुर र मजदुरको साथ विना यातायात कम्पनी अगाडि बढ्न नसक्ने उनको भनाई छ । यातायात व्यवसायीलाई राज्यले दोस्रो दर्जाको नागरिक ठानेको उल्लेख गरेका उनले मजदुर संगठनको साथमा यातयात व्यवसायी रहेको सुनाए । पुराना राजनैतिक दल र नयाँ दलको सरकारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोण उस्तै उस्तै पाएको उनको टिप्पणी छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे यातायात क्षेत्र तहसनहस रहेको बताए । यातायात क्षेत्र महत्वपूर्ण क्षेत्र भएपनि यसमा काम गर्ने मजदुलाई एकदमै तल्लो नागरिकको रुपमा हेरिएको भन्दै दुख प्रकट गरे । ६० लाख मानिस र खरबौं निजी लगानी भएको र १३ लाख मजदुर कार्यरत रहेको क्षेत्रलाई सरकारले बेवास्था गरेको आरोप लगाए । सरकारले यातायात मन्त्रालय समेत खारेज गरेर यति ठूलो क्षेत्रलाई उपेक्षा गरेको बताए । उनले यति ठूलो रोजगारी प्रदान गर्ने र लगानी रहेको क्षेत्रलाई उपेक्षा गरेर देश नचल्ने समेत टिप्पणी गरे । उनले भौतिक पूर्वाधारलाई पूर्णता नदिई जरिवानामात्र लगाउने कूरालाई आफूहरुले नमान्ने प्रष्ट पारे । चालक सहचालकलाई अपराधीलाई जसरी गरिने व्यवहार र कारबाही स्विकार्य नहुने उनको प्रष्टोक्ति थियो ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसीले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा जाने सवालमा दुबिधा नरहेको तर केही विषय संसोधन गर्न सके सबैलाई समेटन् सहज हुने बताए । एउटा डाक्टरले गल्ति गर्दा एक जनाको ज्यान गुम्ने तर, एउटा चालकले गल्ति गर्दै पचासौं जनाको ज्यान जान सक्नेतर्फ सचेत रहन उनले आग्रह गरे । उनले प्रशिक्षण राखेर काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदा गराउँदै पनि समस्या रहेको उनको भनाइ थियो । चालक सहचालकले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सल्लाहकार प्रेम बहादुर कार्की, श्रमिक तथा ऋण सहकारी अध्यक्ष बद्रीनाथ पराजुली, नेपाल यातायात स्वतन्त्र संगठन गण्डकी प्रदेशका अध्यक्ष बेनीराज थिङ लागायतले शुभकामना मन्तव्य राखेका थिए ।
सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश कार्यालय प्रमुख डीपी सुन्दर पराजुलीले योगदानमा आधारित समाजिक सुरक्षा कोष र यसमा प्रवेश गर्दा हुने फाइदाका बारेमा जानकारी गराएका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दुरी बस तथा मिनिबस इकाइका अध्यक्ष खेम भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सचिव तारापति शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।












