प्रतिनिधिसभा बैठक

बाढी, पहिरो र चट्याङबाट ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्ति दिन सांसदहरूको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यहरूले बाढी पहिरो र चट्याङबाट ज्यान गुमाएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले चट्याङ लागेर कैलालीमा २ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइन् । त्यस्तै अर्का सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्‍याएको बताए ।

उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र आवतजावत प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । उनले सरकारको विशेष ध्यानाकर्षण गर्दै सरकारले उद्धारमा लाग्नुपर्ने बताए । त्यस्तै स्वतन्त्र सांसद अम्रेशकुमार सिंहले सर्लाहीमा विद्युत् प्राधिकरणको लापरबाहीले ३१ वर्षीय अविनाश मिश्रको मृत्यु भएको बताए ।

सांसद रामहरि खतिवडाले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै ओखलढुङ्गामा गएको पहिरोबाट देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको बताए । सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए ।

उनले पोखरा विमानस्थलसमेत प्रभावित भएकाले सरकारले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् । उनले जिल्लामा बाढी पहिरो र चट्याङबाट ६ जनाले ज्यान गएको जानकारी समेत गराइन् ।

  • १३ असार २०८१, बिहीबार १३:५८ प्रकाशित