आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

कांग्रेसको ह्वीप

सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो ।

पार्टीले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

  • ९ असार २०८१, आईतवार ०९:१९ प्रकाशित