जादुमय नम्बर छ, पाँचैवर्ष सरकार चलाइन्छ : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष नै आफू नेतृत्वको सरकार टिक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गरे ।

आफूले सरकार सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनको टिप्पणी थियो । उनले आफू सरकारबाट हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह समेत गरे ।

सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरूबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए ।

‘हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरू आउँछन । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदैछ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।

  • ८ असार २०८१, शनिबार २१:०२ प्रकाशित