विराटनगर ।
ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको ज्यान गएको बताइएको छ ।
ज्यान गुमाउनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी ज्यान गुमाएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।
उपाध्यक्षको परिवारका चार जनाको ज्यान गएको छ भने थप खोजी जारी छ। पहिरोले दुई वटा घर बगाएको छ ।
पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।