सरकारले चासो नदिदाँ परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

केन्द्रभाग मिडिया

मनाङ ।

सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् ।

विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौँको लगानी खेर गएको छ । कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहुँदा सरकारको करोडौँ लगानी डुबेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम रु ४५ करोड, पहाडमा रु ३५ करोड र तराईमा रु ५० करोड खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन छैन । क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । प्राधिकरणले २०६९ मा रु नौ करोड खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भए पनि हालसम्म नियमित उडान भने हुनसकेको छैन । नेपालमा बनेकामध्ये हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थल पनि एक हो । परीक्षण उडानपछि यस विमानस्थल अहिले पूर्ण रुपमा बन्द छ । छ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्र गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ ।

बरु कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल विसं २०७० बाट पूर्ण रुपमा बन्द भयो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरे तापनि नियमित उडान सुरु हुनसकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । सन् १९८१ देखि सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल अहिले प्रयोगविहीन हुँदा स्थानीय तथा पर्यटक मर्कामा परेका छन् ।

मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले विसं २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन जमर्को गरे पनि निरन्तरता भने पाउन सकेन । यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयवासीका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ ।

  • १ फाल्गुन २०८०, मंगलवार १७:०५ प्रकाशित