विराटनगर ।
ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको ज्यान गएको छ ।
विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको ज्यान गएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध लोकमार्ग खुलाएको थियो ।













