सुर्खेत ।
एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ ।
ज्यान जानेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका १५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको कालिकोट प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको र उनको ज्यान गएको हो । कालिकोट प्रहरीका अनुसार प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएको हो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । फाइवर बिस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोग बिना नै कर्मचारीलाई काममा खटाउने गरेको बताइएको छ ।












