काठमाडौं ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरु भने नेतृत्व चयनबारे अलमलमा छन् । यद्यपि नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।
महाधिवेशनको लागि हिजो सौराहा पुगेका ओलीलाई हिजै देखी नेता कार्यकर्ताले भेटेर लविङ गरिरहेका छन् । ओली बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका छन् ।
आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने आश्वासन दिएका छन् । तर अध्यक्षमा भीम रावललेसमेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।पदाधिकारीमा आकांक्षीहरु धेरै भएको तर सीमितलाई समेट्नुपर्ने भएपछि अध्यक्ष ओली दबाबमा छन् ।
त्यसमाथि ओलीलाई पूर्वमाओवादी, आफू साथ दिँदै आएका नेता र दश बुँदे पक्षधरलाई समेत सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बाध्यता छ । एकताको महाधिवेशनका रूपमा लिइएको एमालेको दसौँ महाधिवेशनमा निर्वाचन जोडबल थोरै र सहमतिको प्रयास अधिकतम भएको नेताहरु नै बताउँछन् ।
महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकाङ्क्षी देखिएका छन् ।
संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । यसमा १५ जना पदाधिकारी पनि पर्छन् । महाधिवेशनबाट दुई तिहाइ अर्थात एक सय ५० पुरुष र एक तिहाइ अर्थात ७५ महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।
उनीहरूमध्ये ६० पुरुष र ३८ महिला खुला क्षेत्रबाट तथा सात प्रदेशबाट २८ पुरुष र १४ महिलासहित ४२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । एमालेमा नौवटा क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो ।
भोलि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । भोलि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।
११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको छ । ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।