सर्वोच्चमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोकिने भएको छ ।

आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथा विधिबाट पेसी तोक्न मिती तय गरेको हो । अबको एक साता सबै तयारी पुरा गरेर मंसिर १५ देखि गोलाप्रथाबाट पेसी तोक्न सुरु गर्ने भएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

तर गोलाप्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुने त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले मंसिर १५ गतेबाट लागू गर्ने गरी गोलाप्रक्रियाको मिति तोकिएको हो ।

यसरी गरिन्छ गोलाप्रथा

निर्देशिका अनुसार गोला प्रक्रियाद्वारा बृहत् पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ।

गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्ने निर्देशिकामा उल्लेख छ। त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाउनुपर्ने हुन्छ।

जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा राखिन्छ। गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ । त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था मिलाइने निर्देशिकामा उल्लेख छ।

  • ९ मंसिर २०७८, बिहीबार १६:१९ प्रकाशित