गण्डकी : भोलि देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

केन्द्रभाग मिडिया

पोखरा ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ ।
अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि मन्त्रालयले सचेतनामुलक अभियानको तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
अभियान अन्तर्गत भोली (मंसिर ९ गते)पहिलो दिन सचेतनामुलक र्याली आयोजना गरिएको छ ।र्याली भोलि बिहान ९:३० बजे सभागृहचोकदेखि सुरु हुनेछ । यस्तै भोली बिहान ११ बजे पोखरालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ ।

भोली नै सेतो रिवन वितरण कार्यक्रम र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई राहत वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मंसिर १० र ११ गते आत्महत्या रोकथाम सम्बन्धि तालिम,मंसिर १४ गते अन्नपूर्ण गाउँपालिकामा, १८ गते मादी गाउँपालिकामा,१९ गते रुपा गाउँपालिकामा,२१ गते माछापुच्छ्रे गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने भएको छ ।

मंसिर २० गते लैंगिक हिंसाका बारेमा माननीय मन्त्रीहरुसँग अन्तरक्रिया हुने बताइएको छ ।त्यस्तै गण्डकी प्रदेश अन्तर्गतको नवलपुर जिल्लाका सबै स्थानीय तहमा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम र अपाङगता सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने जनाइएको छ ।
लैंगिक हिंसाविरुद्धको दिवसको पूर्वसन्ध्यामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले अभियानले लैंगिक हिंसा विरुद्ध सचेतना जगाउने विश्वास व्यक्त गरे ।

अभियान अन्तर्गत कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार दिने यसअघिको निर्णय अनुसार भोली नै राहत वितरण गरिने कुँवरले बताए । सचिव कुँवरको अनुसार हालसम्म मन्त्रालयमा १७० बालबालिकाको राहतका लागि निवेदन परेको छ ।
कोभिडले ज्यान गुमाएकाको सन्तानलाई यो वर्षभरिनै राहतको व्यवस्था गरिने भएकाले त्यस्ता बालबालिको निवेदन दिन उनले आग्रह गरे ।

यस्तै १६ दिने अभियानले मात्र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडक मानव मुक्त गराउन चुनौती रहेको भन्दै सबै नागरिकलाई सहयोग गर्न कुवरले आग्रह गरे । उनले भने,‘यही १६ दिनको अभियानले नै सडक मानव मुक्त गर्न कठिन छ, हामीले सक्दो गरिरहेका छौ । यहाँहरुले पनि सडकमा त्यस्ता मानव देखेमा सम्बन्धि संघसंस्थामा सम्पर्क गरेर सहयोग गरिदिनुहुन अनुरोध छ ।’

यस वर्षको मुलनारा ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ । १६ दिने अभियान भोलि देखि सुरु हुदैँछ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान देशभर सञ्चालन गरिन्छ ।

  • ८ मंसिर २०७८, बुधबार १६:३६ प्रकाशित