एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको त्यहीँ निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।

नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।

यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् ।

यसैबीच नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।

  • २६ भाद्र २०८०, मंगलवार ०६:३३ प्रकाशित