बाँके ।
नेपालगन्ज विमानस्थलबाट प्रहरीले एक राजस्व अधिकृतलाई २६ लाख नगदसहित पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’
नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।
उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।
अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।