काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली एमालेको तत्कालीन महासचिव भएको भए संघीय गणतन्त्र नआउने बताएका छन् ।
आइतबार समाजवादी मोर्चाले हेटौंडामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा माधवको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने जिकिर गरेका हुन् ।
‘म अहिले स्मरण गर्न चाहन्छु । तत्कालीन अवस्थामा एमालेको महासचिव केपी ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन’, ओलीको विचारशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै उनले भने, ‘त्यतिबेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध गर्यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो ।’
ओलीले प्राप्त उपलब्धिलाई अपमानित गर्न खोजेको आरोप लगाउँदै उनले प्रतिक्रान्तिकारीबाट जोगाउन समाजवादी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताए ।















