आज देखि जनगणना सुरु, यसरी घर–घरमै आएर सोधिने छ ८० प्रश्न

केन्द्रभाग मिडिया

पोखरा ।
‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ ।आज बिहान १० बजेदेखि जनगणना सुरु गरिने छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन् ।

जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ । आज बिहान ११ बजेपछि गणकहरू उपराष्ट्रपति र प्रधानमन्त्रीकहाँ जनगणना गर्न पुग्ने छन्। त्यसपछि तालिकाअनुसार जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि विभागले ४० हजार जना गणकलाई तालिम दिएर फिल्डमा खटाइसकेको छ ।

आज देखि उनीहरूले घरघरमा पुगेर जनगणना सुरु गर्ने विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए । उनका अनुसार जनगणनाका लागि आठ हजार पाँच सयजना सुपरीवेक्षक खटाएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू पनि सुपरीवेक्षकको रूपमा खटिने छन् ।

जनगणनाको क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न गरिनेछ । गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउने छन् । यसअघि तथ्यांक विभागले असोज २६ गतेदेखि कात्तिक १४ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त सूचीकरण कार्यपछि गणकलाई तालिम दिएर जनगणना गर्न थालिएको हो ।

घरघरमा पुगेका गणकले घरधनी वा परिवारका समस्यले दिएको जानकारीका आधारमा पश्नावली भर्नेछन् । उनीहरूले विनम्र भएर प्रश्न सोध्नुपर्नेछ । अन्य व्यक्तिलाई प्रश्नावली भर्न दिन पाउने छैनन् । सोध्दै प्रश्नावलीमा समेटिएका प्रश्नहरूको लिखित उत्तर फारममा भर्नुपर्नेछ ।

उक्त मुख्य प्रश्नावलीमा समावेश ८० वटा प्रश्नमध्ये सबै प्रश्नको उत्तर अनिवार्य नभए पनि मुख्य विषयका प्रश्न अनिवार्य भर्नुपर्नेछ । गणकले प्रश्न नगरी आफूखुसी फारम भरिदिन पाउने छैनन् । घरघरमा पुगेका गणकलाई सत्य र सही विवरण उपलब्ध गराउन तथ्यांक विभागले अनुरोध गरेको छ।

जनगणनाको क्रममा धेरैथरी प्रश्नहरू सोधिनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगीलगायत विवरण फारममा भरिनेछ। यी विषयको विवरण अनिवार्य भर्नुपर्नेछ।

गणकले व्यक्ति र परिवारको विवरण आउने गरी जनगणना गर्नेछन्। प्रश्नावलीमा वडालाई चाहिने सूचकांक, विकास लक्ष्यका सूचक, वडाको भौतिक सुविधा, सामाजिक अवस्था, प्राकृतिक प्रकोपको अवस्था, पछौटेपनलगायत विवरण पनि संकलन गरिनेछ। कतिपय तथ्यांक वडा कार्यालयबाट संकलन गरिनेछ ।

गणकलाई सहयोग गर्न प्रदेशवासीलाई गण्डकीका मुख्यमन्त्रीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न प्रदेशवासीमा अनुरोध गरेका छन् ।

राज्यको पुनसंरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणनाको खास महत्व रहेको मुख्यमन्त्रीले जनाएका छन् । प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन ।

२०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो तथ्यांक थिएन । उनले भनेका छन्, ‘२०६८ सालमा राज्यको पुरानो संरचना अन्तगरगत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौं । तर यसपालि जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ । यो खुसीको कुरा हो ।’

हाम्रो प्रदेशको जनसंख्या कति छ ? कुन कुन जातिका मानिसहरुको बसोबास छ ? कुन धर्म र सस्कृतिका मानिसहरु कति छन् ? कुन भाषा बोल्ने मानिसहरुको बाहुल्य छ ? सामाजिक बहिष्करणमा परेका समूहहरु दलित, जनजाति, अल्पसंख्यक लोपोन्मुख महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लंग पार्ने मुख्यमन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् ।

उनका अनुसार जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक, समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ ।

janaganana-pdf

 

  • २५ कार्तिक २०७८, बिहीबार ०७:४६ प्रकाशित