ओली पालाका बाँकी तीन प्रदेश प्रमुख देउवा सरकारले हटायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले पदेश प्रमुख हेरफेर गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो।हिजो बसेको मन्त्रिपरिषद बैठकले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने भएको हो।

उनीहरूलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको जनाइएको छ ।प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्।

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्।साथै कर्णालीमा माओवादी केन्द्रका पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ।

यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्। उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्।यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए।

नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ।

  • २३ कार्तिक २०७८, मंगलवार १५:१७ प्रकाशित