आन्दोलित विद्यार्थीको माग पुरा नभएको भन्दै सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई पिटे

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

अराजक बन्दै गएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले फेरि कुटपिट गरेका छन् ।

उनीहरुले धनुषाका एक प्रधानाध्यापकलाई चप्पलले पिटेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई उनीहरुले चप्पलले पिटेका हुन्।

विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेका हुन्। नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्।

यस अघि सिके राउतका कार्यकर्ताले बाटोको खाल्डाखुल्डी नपुरेको भन्दै खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट गरि गोबर दली बजार परिक्रमा गराएका थिए ।

  • १२ कार्तिक २०७८, शुक्रबार १४:४५ प्रकाशित