निजी विमानले उडान नर्भदा विमानस्थलबाटै फर्किए बिरामी

केन्द्रभाग मिडिया

सिमकोट ।

निजी विमानले उडान नर्भदा उपचारका लागि जिल्ला बाहिर बिरामी विमानस्थलबाटै फर्किन बाध्य भएका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका १ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाटै फर्किएका छन् । उनलाई जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएकोमा हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उनी अहिले सिमकोटमा रोकिनुपरेको छ।

उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाही सिमकोटमै रोकिनुपरेको हो।

जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ।बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन्।

यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ।

  • ९ कार्तिक २०७८, मंगलवार १३:११ प्रकाशित