अप्ठ्यारोमा प्रधानन्यायाधीश, सर्वोच्च अदालत बार एसोसिएसनले समेत माग्यो राजिनामा

केन्द्रभाग मिडिया

पोखरा ।

वर्तमान सरकारमा भागवण्डा खोजेको भन्दै आलोचना सुरु भएदेखि नै विवादमा तानिएका प्रधानन्यायाधीश अप्ठ्योरामा परेका छन् । उनलाई आफ्नै सहकर्मीदेखि नागरिक अगुवा र न्याय क्षेत्रसंग सरोकार राख्ने व्यक्ति र संस्थाहरुले समेत एकपछि अर्को गर्दै प्रधानन्यायाधीसको राजिनामा माग्ने क्रम जारी छ । सर्वोच्च अदालत बार एसोसिएसनले समेत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।

सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । न्यायालयमा अहिलेको परिस्थिति आउनुमा नेतृत्व नै जिम्मेवार भएकाले उनले नै निकास दिनुपर्ने उनको भनाइ छ ।

सोमबार नै बसेको नेपाल बार एसोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका सचिव ऋषिराम घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जिन विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

  • ८ कार्तिक २०७८, सोमबार १९:५६ प्रकाशित