परिचय पत्र विनाका कसैलाई कोठा भाडामा नदिन सरकारको आग्रह (यस्तो छ कारण)

केन्द्रभाग मिडिया

पोखरा ।
विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । पछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।

११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डौमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो । आज सोमवार बिहान ११ जना अफगान नागरिक सिनामङ्गलबाट पक्राउ परेका थिए । प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ ।

कात्तिक ४ र असोज तेस्रो हप्ता उनीहरू बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका प्रहरीले जनाएको छ ।

  • ८ कार्तिक २०७८, सोमबार १९:३० प्रकाशित