नेपाल आइपुग्यो फाइजरको १ लाख डोज : खोप कार्यक्रम कहिलेबाट ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकाले अनुदानमा दिएको एक लाख बढी फाइजर खोप नेपाल आइपुगेको छ ।

एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको अमेरिकी राजदूतावासले ट्वीट गर्दै जानकारी दिएको छ ।फाइजर खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई लगाइने सरकारले बताएको छ ।

भण्डारण र वितरणमा सबैभन्दा चुनौतीपूर्ण भनिएको फाइजर खोप नेपालभरिका २४ वटा अस्पतालमा खोप केन्द्र राखेर वितरण अभियान थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

खोप ढुवानी र भण्डारण गर्न अन्य खोपका तुलनामा जटिल रहेकाले फाइजर खोप वितरण अस्पतालबाटै हुने बताइएको छ ।

खोपको दुवै मात्रा प्राप्ति सुनिश्चित गर्नका लागि उपलब्धमध्ये आधा खोप पहिलो चरणमा लगाइने र पहिलो मात्रा लगाएको २१ देखि २८ दिनको अन्तरालमा दोस्रो मात्रा उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।

खोप अभियान सुरु गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने र खोपको ढुवानी व्यवस्थापन लगायतका कार्यहरू अगाडि बढाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

फाइजर खोप वितरण यहि कार्तिको अन्तिम साताबाट सुरु हुने मन्त्रालयको भनाई छ ।नेपालमा अहिलेसम्म तीनथरी कोभिड खोप(कोभिसिल्ड,भेरोसेल र जोनसन) प्रयोग गरिएको थियो ।

अठार वर्षमाथिका खोप लगाउन बाँकी दीर्घरोगिहरू खासै धेरै नरहेकाले उनीहरुलाई फाइजरको डोज दिने तयारी गरिएको अधिकारीहरुले बताएका छन् ।यो खोप काठमाडौं उपत्यकाका नौवटा र उपत्यका बाहिरका १५ वटा अस्पतालबाट लगाइने भएको छ ।

माइनस ८० डिग्री सेल्सीअस तापमानमा भण्डारण गर्नुपर्ने भनिएको फाइजर खोप दुई देखि आठ डिग्रीमा राखेर छ घण्टाभित्र लगाइसक्नुपर्ने बताइएको छ।प्रयोग नगरिएको खोपको भाएल भने नौ महिनासम्म माइनस ८० डिग्रीमा भण्डारण गर्न सकिने अधिकारीहरू बताउँछन्।

  • ८ कार्तिक २०७८, सोमबार १३:४५ प्रकाशित