एमाले महासचिव पोखरेलको माधव नेपाल लक्षित टिप्पणी ‘अवसरबादको खेती गर्नेहरु टिक्दैनन्’ भिडियोसहित

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अफ्नो पार्टीबाट विभाजित भएर गएका नेता कार्यकर्तालाई अबसरवादको खेती गर्नेहरु भनेका छन् । नेकपा एमाले कास्कीले बुधबार विहान पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उनले यस्तो भनेका हुन् ।

नेकपा एसका नेता कार्यकर्तालाई लक्षित गर्दै उनले ‘अवसरबादको खेती गर्ने शक्तिहरु, आफ्नो पार्टीको सरकार अपदस्त गर्ने, विरोधीलाई प्रधानमन्त्री बनाउने । राजनितिक रुपमा अक्षयम्य अपराध गर्नेहरु समाप्त हुनेवाला छन् । उनीहरु टिक्नेवाला छैनन्’ भने ।

वर्तमान सरकार विदेशी सामु घुँडा टेक्नेहरुको सरकार भन्दै उनले भने ‘वर्तमान पाँच दलीय गठबन्धन विदेशी सामु घुँडा टेक्नेहरुको गठबन्धन हो । राष्ट्रिय स्वाधिनता, समृद्धि र यसको बाहक एमाले विरुद्धको गठबन्धन हो’ ।

एमाले राष्ट्रिय स्वाधिनताको पक्षधर, विकास र समृद्धिको पक्षधर, जातीय सद्भावको पक्षधर रहेको उनको जिकिर छ । एमालेको विपक्षमा रहेका दलहरुलाई उनले स्वाधिनता विरोधी, विकास र समृद्धि विरोधी, सामाजिक सद्भाव विथोल्नेहरु रहेको बताए । ‘यो गठबन्धन आर्थिक विकास र समृद्धिलाई रोक्न हो । आर्थिक विकासलाई धरासायी बनाउन हो ।

आराजकतालाई बढावा दिनका लागि हो । विदेशीहरुको समुन्नेमा घुँडा टेक्नका लागि लाज नमान्नेहरुको गठबन्धनको हो’ उनले भने, ‘यो गठबन्धन धेरै दिन टिक्ने वाला छैन । यसका विरुद्ध एमाले दिर्ढता पूर्वक लाग्ने छ ।’

केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री समेत रहेका महासचिव पोखरेलले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाएरै एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

  • ३ कार्तिक २०७८, बुधबार १२:२९ प्रकाशित