दैनिक ५ सय पर्यटक तान्दैँ पर्वतको झोलुंगे पुल

केन्द्रभाग मिडिया

गलकोट ।

बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म बनेको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलले दिनदिनै पर्यटकको ध्यान तान्दैँ आएको छ । कुनै समय सुनसान, कालोपाती र झाडीले भरिएको पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारीमा पुल बनेसँगै पर्यटकको चहलपहल दिनानुदिन बढेको छ ।

डरलाग्दो भिर माथिको टाकुरोमा अडिएको झोलुंगे पुलले धेरैलाई आकर्षित गर्दै आईरहेको छ ।पुलमा दैनिक चारदेखि पाँच सय बढी आन्तरिक पर्यटक पुग्ने गरेको पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिएका छन् । मानिसको आगमन बढेसँगै पुलपारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेका छन्।

मानिसहरुको चहलपहल बढेसँगै अहिले त्यस क्षेत्रका स्थानीयले धमाधम नयाँ व्यवसाय सञ्चालन गर्न थालेका छन् । घर–भवन बनिरहेका छन्। पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, व्यापार-व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरिको पर्यटन क्षेत्रमा रौनकता थप्न थालेको छ। कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै आएको छ।

कुनै बेला बाँदरले सताएर अदुवा मात्र लगाउन बाध्य यो ठाउँले अहिले भने आफ्नो रूप फेरेको छ। पछिल्लो समय पर्यटकीय स्थान बनेको छ। यहाँ थेग्नै नसक्ने गरी आन्तरिक पर्यटकको घुइँचो लाग्ने स्थानीयले बताए।

  • १ कार्तिक २०७८, सोमबार १५:४० प्रकाशित