पोखरा ।
पोखराको प्रतिभा माविमा एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको हो ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविसँगको सहकार्यमा विगत पाँचवर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि नेपाल आउने र उनीहरुले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना गर्छन । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो मेला आयोजना गरिएको सापकोटाले बताए ।
‘आफुलाई मनपर्ने विषय कुन विश्वविद्यालयमा पढ्न पाइन्छ भनेर विद्यार्थीले पोखरामै थाहा पाउनेछन, प्रतिभाका विद्यार्थीका लागि यस्तो मेलाले झनै सहज बनाइदिएको छ,’ सापकोटाले भने, ‘विद्यार्थीले रुचीको विषयबारे सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँगै आवश्यक सोधपुछ गर्न पाउँदा झनै सहज हुने गरेको छ ।’
प्रतिभा मावि परिसरमा आयोजित मेलामा अमेरिकाका एक दर्जन बढी विश्वविद्यालयले विद्यार्थीलाई आवश्यक शैक्षिक जानकारि गराएका थिए । त्यसबाहेक विद्यार्थीले पाउने छात्रवृत्ति, विषय छनोट, रोजगारका अवसरबारे पनि विश्वविद्यालयका प्रतिनिधिसँग जानकारी लिएका थिए । नेपालस्थित अमेरिकी दुतावास र यूसेफ नेपालसँगको सहकार्यमा प्रतिभा माविमा यो कार्यक्रम आयोजना भएको थियो ।
विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्ययन गर्न चाहने विद्यार्थीले भविश्यको आफ्नो शैक्षिक यात्राबारे थाहा पाउने भएकोले यस्तो मेला प्रभावकारी हुने उनले बताए । यसअघि अमेरिकाका यिनै विश्वविद्यालयले विद्यार्थीका लागि आवश्यक जानकारी दिने गरि पोखराको एक होटलमा मंगलबार खुला रुपमा शैक्षिक मेला आयोजना गरेका थिए । तर प्रतिभाका लागि भने विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको थियो ।















