साफ च्याम्पियन्सिप : आज नेपाल बलियो भारतसंग भिड्दै

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा नेपाल आज (आइतबार) भारतसँग भिड्दै छ । सुरुदेखि लगातार दुई खेल जितेको नेपालले आज भारतसंग पनि जित निकाल्ने योजनामा छ । खेल नेपाली समयानुसार राति ९: ४५ मा सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो भने र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले जितेको थियो ।

अहिलेसम्म नेपाल २ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । यसपछि ३ खेलमा ४ अंक ल्याएको बंगलादेश दोस्रो स्थानमा छ। त्यस्तै माल्दिभ्स २ खेलमा ३ अंक प्राप्त गरी तेस्रो स्थानमा छ भने २ खेलमा २ अंक जोडेको भारत चौथो स्थानमा छ। यस्तै श्रीलंकाले ३ खेलमा एक अंक पाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङ दुवैले नेपालले आजको खेल पनि जित्ने दाबी गरेका छन् । नेपाल–भारतबीचको प्रतिस्पर्धा एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ ।

  • २४ आश्विन २०७८, आईतवार ०७:३० प्रकाशित