काठमाडौं ।
नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् ।
एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा जोशी ‘एस’मा प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरे ।
एसले जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले बाध्य भएर अर्को क्रान्तिकराी पार्टी निर्माण गरेको स्पष्ट पारेका छन् । उनले भने,‘नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गैसकेको छ । अन्तिम प्रयत्न गर्दापनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने निश्कर्षमा पुगेर, हामीले क्रान्तिकारी पार्टी निर्माण गर्यौं ।’
पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए। जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए।