ब्याचलर पहिलो वर्षको रिजल्ट अब छिट्टै आउछ : त्रिवि

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नतिजा अब छिट्टै आउने जनाएको छ । । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि तिव्रताको साथ तयारी भइरहेको बताएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र खटिएर काम भइरहेको बताए ।

त्रिविले १० असोजदेखि दसैँ बिदा दिएको छ । त्यसपछि असोज २४ गते मात्रै त्रिवि खुल्छ । १÷२ दिनभित्रमा नतिजा प्रकाशन गर्न सकिएन भने दसैँ बिदापछि मात्रै नतिजा प्रकाशन हुनेछ । ‘अहिले हाम्रो सम्पूर्ण ध्यान नतिजा प्रकाशनमै छ । अब धेरै ढिला हुँदैन । उनले भने

नतिजा जतिसक्दो चाँडो प्रकाशन गर्नेगरी तयारी गरिरहेका छौं । ठ्याक्कै कति समयमा प्रकाशन हुन्छ भन्न सकिने अवस्था भने छैन,’ सहायक परीक्षा नियन्त्रक ओझाले भने । क्रमिक रूपमा नतिजा तयार भइसकेका विषयमा नतिजा प्रकाशन गर्दै जाने उनले बताए । प्रथम वर्षको नतिजा तयार भइसकेको र त्यही आधारमा प्राविधिक विषय टुंग्याएर नतिजा प्रकाशनको काम भइरहेको उनको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।

गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् ।

त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार १५:५२ प्रकाशित