आज साँझ वा भोलीसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अब छिट्टै पूर्णता पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसंगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।

मंगलबार वा बुधबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका प्रधानमन्त्री देउवाले असार २९ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

सरकारले राजनीतिक दल विभाजनको अध्यादेश प्रतिनिधि सभामा पेस गरे पनि प्रक्रियामा अघि बढाएको थिएन । आइतबार गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकमा यसबारे कुरा भएको थियो।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई मन्त्री बनाएका थिए।

साउन १० मा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र असोज ७ गते परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई देउवाले नियुक्त गरेपनि बाँकी मन्त्रालय आफैँले राखेका छन् ।

अध्यादेशकै व्यवस्थामा टेकेर एमाले र जनता समाजवादी पार्टी विभाजन भइसकेको छ । कुनै दल विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनैमा २० प्रतिशत ल्याए पुग्ने व्यवस्था राखिएको थियो ।

अहिले त्यही व्यवस्था राखेर सरकारमा जाँदा फेरि दल विभाजन हुने खतरा देखेर अध्यादेश फिर्ता लिएर मात्र सरकारमा जाने जसपा र नेकपा एकीकृत समाजवादीले अडान राखेका थिए ।

अब सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालय भागबण्डाको टुंगो लगाउने छन् ।

  • १२ आश्विन २०७८, मंगलवार ०६:३० प्रकाशित